तिमीमा कुनै खोट छैन
पुरुषले स्त्रीको एक-एक अङ्गको प्रशंसा गर्छन्, उनलाई आफ्नी दुलही र बहिनी भन्छन्, र उनमा कुनै दोष छैन भन्छन्। उनी ताल्चा लगाइएको बगैँचा हुन्, छाप लगाइएको मूल हुन्, केवल उनकै। अन्त्यमा स्त्रीले जवाफ दिन्छिन्, बतासलाई बोलाउँछिन् र त्यो बगैँचा आफैँ खोलिदिन्छिन्।
4 1ए मेरी प्रिय, तिमी कति सुन्दर छ्यौ, तिमी कति सुन्दर छ्यौ! तिम्रो घुम्टोभित्र तिम्रा आँखा ढुकुरजस्ता छन्। तिम्रा कपाल गिलादको पहाडबाट झर्दै आउने बाख्राको बगालजस्ता छन्। 2तिम्रा दाँत भर्खरै ऊन कत्रिएर नुहाइबाट निस्केर आउने भेडीहरूको बगालजस्ता छन्, हरेकले जुम्ल्याहा बच्चा जन्माएका छन्, र तीमध्ये कुनैले पनि आफ्नो बच्चा गुमाएको छैन। 3तिम्रा ओठ रातो धागोजस्ता छन्, र तिम्रो मुख मनोहर छ। तिम्रो घुम्टोभित्र तिम्रा गाला दारिमका फ्याकजस्ता छन्। 4तिम्रो गर्दन दाऊदको धरहराजस्तो छ, जुन ढुङ्गाका लहरैलहरले बनाइएको छ; त्यसमा 1,000 ढाल झुन्ड्याइएका छन्, हरेक नै योद्धाको ढाल। 5तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, मृगका जुम्ल्याहा, जो लिली फूलहरूका बीचमा चर्छन्। 6दिनले सास नफेर्दासम्म र छायाहरू नभाग्दासम्म, म मूर्रको पर्वततिर र लोबानको डाँडातिर जानेछु। 7ए मेरी प्रिय, तिमी पूर्ण रूपले सुन्दर छ्यौ; तिमीमा कुनै खोट छैन।
8ए मेरी दुलही, लेबनानबाट मसँग आऊ; लेबनानबाट मसँग आऊ। अमानाको टाकुराबाट, सनीर र हर्मोनको टाकुराबाट, सिंहका गुफाहरूबाट, चितुवाहरू बस्ने पर्वतहरूबाट तल हेर। 9ए मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो मन चोर्यौ; तिम्रा आँखाको एकै दृष्टिले, तिम्रो हारको एउटै रत्नले तिमीले मेरो मन चोर्यौ। 10ए मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति उत्तम छ, र तिम्रा अत्तरको सुगन्ध कुनै पनि मसलाभन्दा कति उत्तम छ! 11ए मेरी दुलही, तिम्रा ओठबाट मधु चुहिन्छ; तिम्रो जिब्रोमुनि मह र दूध छन्, र तिम्रा वस्त्रहरूको सुगन्ध लेबनानको सुगन्धजस्तो छ।
12मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचा हौ, बन्द गरिएको मूल, छाप लगाइएको सोता। 13तिम्रा हाँगाहरू उत्कृष्ट फलहरूसहितको दारिमको बगैँचा हुन्, मेहदी र जटामसी, 14जटामसी र केशर, बोझो र दालचिनी, लोबान, मूर्र र अगरका हरेक रूखसहित, सबै उत्कृष्ट मसलाहरूसहित। a a v14 बोझो मसलाको रूपमा प्रयोग गरिने एउटा सुगन्धित नर्कट हो। 15तिमी बगैँचाको सोता हौ, जीवित पानीको इनार, र लेबनानबाट बग्दै आउने खोलाहरू। 16ए उत्तरी बतास, जाग, र ए दक्षिणी बतास, आऊ! मेरो बगैँचामाथि बह, ताकि त्यसका सुगन्धहरू फैलिऊन्। मेरा प्रेमी आफ्नो बगैँचामा आऊन् र त्यसका उत्कृष्ट फलहरू खाऊन्।