मृत्युको मुखमा हिजकिया
निको हुनेछैनौ भनी हाम्रा पिताबाट भनिएपछि हिजकिया भित्तातिर मुख फर्काएर रुन्छन्। पन्ध्र वर्ष थपिन्छन्, र प्रमाणस्वरूप घामको छाया पछाडि सर्छ। उनको लेखिएको प्रार्थनाले मृत्युको त्रासबारे केही लुकाउँदैन, र जीवितहरूले उहाँको प्रशंसा गर्छन् भन्ने जानेर टुङ्गिन्छ।
38 1ती दिनहरूमा हिजकिया मरणासन्न रोगले बिरामी परे। आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र भने, “हाम्रा पिता यसो भन्नुहुन्छ: तिमी आफ्नो घरको बन्दोबस्त मिलाऊ, किनकि तिमी मर्नेछौ; तिमी निको हुनेछैनौ।”
2तब हिजकियाले आफ्नो अनुहार भित्ततिर फर्काए र हाम्रा पितासँग प्रार्थना गरे, 3अनि भने, “हे मेरा पिता, मैले कसरी सारा हृदयले तपाईंको सामु विश्वासयोग्य भई हिँडेँ, र तपाईंको दृष्टिमा जे असल थियो त्यही गरेँ, सो सम्झनुहोस्।” हिजकिया धुरुधुरु रोए।
4तब हाम्रा पिताको वचन यशैयाकहाँ आयो:
5“गएर हिजकियालाई भन, ‘तिम्रा पुर्खा दाऊदका पिता, हाम्रा पिता यसो भन्नुहुन्छ: मैले तिम्रो प्रार्थना सुनेको छु र तिम्रा आँसु देखेको छु। म तिम्रो आयुमा पन्ध्र वर्ष थप्दैछु।’ 6म तिमीलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट बचाउनेछु; म यस सहरको रक्षा गर्नेछु।
7“हाम्रा पिताबाट तिम्रो निम्ति चिन्ह यही हो, कि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा उहाँले पूरा गर्नुहुनेछ: 8हेर, आहाजको खुड्किलामा घाम ओर्लंदा परेको छाया म दस खुड्किला पछाडि फर्काउनेछु।’” यसरी घाम ओर्लेको दस खुड्किला पछाडि फर्कियो।
9यहूदाका राजा हिजकियाको लेखोट, तिनको रोग र निको भएपछिको: 10मैले भनेँ, “मेरो आयुको बिचमा मैले चिहानका ढोकाहरूबाट जानुपर्नेछ; मेरो बाँकी आयुबाट म वञ्चित भएको छु।” 11मैले भनेँ, “जीवितहरूको देशमा म हाम्रा पिता उहाँ आफैलाई देख्नेछैनँ; यस बितेर जाने संसारमा बास गर्नेहरूमाझ म अब उप्रान्त मानिसलाई हेर्नेछैनँ। 12गोठालाको पाल झैँ मेरो बासस्थान उखेलेर मबाट टाढा लगियो। जुलाहाले झैँ मैले आफ्नो जीवन बेह्रेको छु; उहाँले मलाई तानबाट काट्नुहुन्छ; दिनदेखि रातसम्म तपाईंले मेरो अन्त्य गर्नुहुन्छ। 13बिहानसम्म म शान्त भई पर्खेँ, तर सिंहले झैँ उहाँले मेरा सबै हाडहरू भाँच्नुहुन्छ; दिनदेखि रातसम्म तपाईंले मेरो अन्त्य गर्नुहुन्छ। 14गौँथली वा सारसले झैँ म चिरबिर गर्छु; ढुकुरले झैँ म विलाप गर्छु। माथितिर हेर्दाहेर्दै मेरा आँखा थाकेका छन्। हे सार्वभौम पिता, म सङ्कष्टमा परेको छु; मेरो सुरक्षाको जमानी बन्नुहोस्!” 15म के भनूँ? उहाँले मसँग बोल्नुभएको छ, र उहाँ आफैले त्यो पूरा गर्नुभएको छ। मेरो प्राणको तिक्तताले गर्दा म आफ्ना सारा वर्ष बिस्तारै हिँड्नेछु। 16हे सार्वभौम पिता, यस्तै कुराहरूद्वारा मानिसहरू बाँच्छन्, र ती सबैमा मेरो आत्माको जीवन छ। यसकारण मलाई स्वस्थ तुल्याउनुहोस् र मलाई बाँच्न दिनुहोस्! 17निश्चय नै मैले यस्तो तिक्तता भोग्नु मेरो आफ्नै भलाइको निम्ति थियो। तपाईंको प्रेमले तपाईंले मेरो प्राणलाई विनाशको खाडलबाट रोक्नुभयो, किनकि तपाईंले मेरा सबै पाप आफ्नो पिठ्यूँपछाडि फ्याँक्नुभएको छ। 18किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन; मृत्युले तपाईंको स्तुतिगान गर्न सक्दैन। खाडलमा ओर्लनेहरूले तपाईंको विश्वसनीयताको आशा गर्न सक्दैनन्। 19जीवित, जीवितहरूले नै— आजको दिन मैले झैँ तपाईंको प्रशंसा गर्छन्; बुबाले छोराछोरीलाई तपाईंको विश्वसनीयता थाहा दिन्छन्। 20हाम्रा पिताले मलाई बचाउनुहुनेछ, र हामी आफ्नो जीवनभरि हाम्रा पिताको भवनमा तारका बाजाहरूमा मेरा गीतहरू बजाउनेछौँ।
21यशैयाले भनेका थिए, “तिनीहरूले अन्जीरको डल्लो लिएर पिलोमा लगाऊन्, र तिनी निको हुनेछन्।” 22हिजकियाले सोधेका थिए, “म हाम्रा पिताको भवनमा जानेछु भन्ने चिन्ह के हो?”