पिताले मार्ग तयार पार्नुहुन्छ
ऊँटको रौँको वस्त्र लगाएका यूहन्ना बप्तिस्माका लागि आउने भीडलाई भन्छन् कि अब्राहामका सन्तान हुनुले कसैलाई बचाउँदैन। त्यसपछि येशू पनि बप्तिस्मा लिन माग्नुहुन्छ, र यूहन्ना यो त उल्टो हुनुपर्ने हो भनी आपत्ति जनाउँछन्। तिनले स्वीकार्छन्, र उहाँका पिताको आवाजले आफ्नो प्रिय पुत्रलाई आफ्नो भनी दाबी गर्छ।
3 1ती दिनमा बप्तिस्मा दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा प्रचार गर्दै आए, 2“पश्चात्ताप गर, किनकि हाम्रा पिताको राज्य नजिक आएको छ।” 3अगमवक्ता यशैयाले जसको विषयमा यसो भनेका थिए, ती यिनै हुन्: “उजाड-स्थानमा कराउनेको आवाज: प्रभुको मार्ग तयार पार, उहाँका बाटाहरू सोझा बनाओ।”
4यूहन्नाले ऊँटको रौँको वस्त्र लगाउँथे र आफ्नो कम्मरमा छालाको पटुका बाँध्थे; तिनको भोजन सलह र वन-मह थियो। 5तब यरूशलेम, सारा यहूदिया र यर्दन वरपरका सारा क्षेत्रका मानिसहरू तिनीकहाँ निस्केर आए, 6र तिनीहरूले आफ्ना पापहरू स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिए।
7बप्तिस्मा लिन आइरहेका धेरै फरिसी र सदुकीहरूलाई देखेर तिनले उनीहरूलाई भने, “ए सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? 8त्यसैले पश्चात्तापको योग्य फल फलाओ। 9‘अब्राहाम हाम्रा पिता हुन्’ भनेर आफ्नै मनमा भन्ने घमण्ड नगर, किनकि म तिमीहरूलाई भन्दछु: हाम्रा पिताले यी ढुङ्गाहरूबाट अब्राहामका निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। 10बन्चरो त रूखहरूको फेदमै राखिसकिएको छ, त्यसैले असल फल नफलाउने हरेक रूख काटिन्छ र आगोमा फालिन्छ।
11“म त तिमीहरूलाई पश्चात्तापको निम्ति पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने त मभन्दा शक्तिशाली हुनुहुन्छ—उहाँका जुत्ता बोक्न पनि म योग्य छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 12उहाँको हातमा निफन्ने काँटा छ; उहाँले आफ्नो खलालाई सफा गर्नुहुनेछ, आफ्नो गहुँ भकारीमा जम्मा गर्नुहुनेछ, तर भुसलाई कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” a a v12 निफन्ने काँटाले दाइँ गरिएको अन्नलाई हावामा उफारिन्थ्यो; गह्रौँ गहुँ भुइँमा फेरि खस्थ्यो भने हलुका भुस उडेर जान्थ्यो।
पिताले आफ्ना पुत्रलाई स्वागत गर्नुहुन्छ
13तब येशू यूहन्नाबाट बप्तिस्मा लिन गालीलदेखि यर्दनमा यूहन्नाकहाँ आउनुभयो। 14तर यूहन्नाले उहाँलाई रोक्न खोजे: “मैले त तपाईंबाट बप्तिस्मा लिनुपर्ने, अनि तपाईं मकहाँ आउनुहुन्छ?”
15येशूले तिनलाई जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ, किनकि यसरी नै हामीले सबै धार्मिकता पूरा गर्नुपर्छ।” तब यूहन्नाले उहाँलाई अनुमति दिए।
16येशूले बप्तिस्मा लिनुभएपछि उहाँ तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र एक्कासि उहाँनिम्ति स्वर्ग उघ्रियो; उहाँले हाम्रा पिताका आत्मा ढुकुरझैँ ओर्लनुभएको र आफूमाथि बस्न लाग्नुभएको देख्नुभयो।
17तब स्वर्गबाट यस्तो आवाज आयो, “यिनी मेरा पुत्र हुन्, मेरा प्रिय; यिनीसित म अति प्रसन्न छु।”